प्रतीकात्मक तस्वीर
झापा – दुई दिनदेखिको अविरल वर्षाका कारण झापामा ३ सय ६१ परिवार विस्थापित भएका छन् । कनकाई, रतुवालगायत नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३ सय ६१ परिवार विस्थापित भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार कनकाई नदी ४.३ को खतराको सङ्केत पार गरेर बस्तीमा पसेपछि जिल्लाका अधिकांश भाग जलमग्न छन् । ‘जिल्लाका ३ सय ६१ परिवारका एक हजारभन्दा धेरै मानिस विस्थापित छन् , उहाँले भन्नुभयो, ‘कतिपय ठाउँमा सम्पर्क विच्छेद भएको छ । बिजुलीको पोल ढल्दा विद्युत सेवा पनि अवरुद्ध भएको छ ।’

विस्थापित भएकाहरुलाई आफन्त, विद्यालय तथा मन्दिरलगातयतका सार्वजनिक स्थलमा राखिएको तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार रतुवा खोलाले दमक–७ स्थित पशुहाटमा रहेका ७ वटा घर बगाएको छ । खतराको सीमा पार गरेको कनकाई माइले गौरीगञ्ज, हुकलवारीलाई चारैतर्फबाट बाढीले घेरेका कारण मध्यरातदेखि उद्वारका लागि गरिएको प्रयास बिहानसम्म सफल हुन सकेको छैन । चौरीवस्ती, टप्पुलगायतका स्थानमा रहेका घरभित्र पानी पसेर स्थानीय विस्थापित भएका छन् ।

दमक, भद्रपुर, शिवसताक्षी, गौरीगञ्जसहित झापा गाउँपालिका धेरै गाउँ बाढीले प्रभावित भए पनि अहिलेसम्म मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।