काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवम् उनीहरुका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरुले ग्लोबल आइएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

उक्त सहयात्री सिममा ‘ग्लोबल स्मार्टप्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ। बैंकका अनुसार सहयात्री सिमकार्डमा रु. २० मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ। साथै सिम सुचारु गरिएको २ दिनभित्र रु. १०० वा सोभन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइने छ।

सहयात्री सिमकार्ड प्रयोगकर्ताहरुले १ वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवं मध्यपूर्वी राष्ट्रहरुमा कल गर्दा अतिरिक्त शुल्क छुट पनि प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङ्गका साथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८४० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।