काठमाडौं – अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ । ८४ वर्षको उमेरमा पावेलको निधन भएको उनको परिवारले वक्तव्यमार्फत् जानकारी दिएको हो ।

रिपब्लिकन पार्टीसँग आबद्ध रहेका पावेल सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा अमेरिकी विदेशमन्त्री बनेका थिए । अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने उनी पहिलो व्यक्ति थिए । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका उनी संयुक्त सैन्य प्रमुख र त्यसपछि विदेशमन्त्री बनेका थिए ।

कोलिन पावेल नेपाल भ्रमणमा आउने एकमात्र अमेरिकी विदेशमन्त्री हुन् । अमेरिकी विदेशमन्त्री रहेका बेला उनी नेपाल भ्रमणमा समेत आएका थिए । पदमा बहाल भएकै बेला नेपाल भ्रमणमा आउने उनी एकमात्र अमेरिकी विदेशमन्त्री हुन् ।

सन् २००२ को जनवरी १८ मा उनी नेपाल भ्रमणमा आएको बेला माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको थियो ।त्यतिबेला उनले तत्कालीन राजा ज्ञानेन्द्र शाह, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका थिए । पाकिस्तान र भारत हुँदै नेपाल आएका उनले आतंकवादविरुद्ध अमेरिकी नीतिबारे नेपाल सरकारलाई जानकारी गराएका थिए ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी पूर्वविदेशमन्त्री पावेलको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले ट्वीट गर्दै सन् २००२ मा उनीसँग भेटेको स्मरणसमेत गर्नुभएको छ ।