सांसद सद डेविड एमेस, फाइल तस्वीर ।
लण्डन– बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसदमाथि चक्कु प्रहार गरी हत्या गरिएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला ६९ वर्षीय सांसद सद डेविड एमेसमाथि एक व्यक्तिले चक्कु प्रहार गरी हत्या गरेका हुन् । उनीमाथि पटक पटक चक्कु प्रहार गरी हत्या गरिएको बेलायली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सांसद एमेसमाथि ली अन सीस्थित एक चर्चमा चक्कु प्रहार गरिएको थियो । प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कु बरामद गरेको छ । उक्त हत्या अभियोगमा २५ वर्षीय एक युवकलाई त्यहाँको प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको गरेको छ ।

घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका युवा बाहेक अरु नरहेको प्रहरीको भनाई छ । शुक्रबार भएको उक्त घटनापछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफू दुःखमा रहेको उल्लेख गरेका छन् । त्यहाँका गृहमन्त्री प्रिती पटेलले प्रहरीलाई सबै सांसदहरुको सुरक्षा व्यवस्थाबारे तत्काल मूल्याङ्कन गर्न आदेश दिएकी छन् ।

श्रीमती र पाँच सन्तानका पिता एमेस सन् १९८३ देखि सांसद रहँदै आएको थिए । पछिल्लो पाँच वर्षमा बेलायतमा दुई सांसदको हत्या भएको छ । सन् २०१६ मा लेबर पार्टीका सांसद जो कक्सको पनि हत्या भएको थियो ।