फाइल तस्वीर ।
काठमाडौं – नेपालले आज माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वि भारतको सामना गर्दैछ । नेपाली समय अनुसार शनिबार राति ८ः४५ बजे सुरु हुने फाइनलमा २८ वर्षे लामो साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपाल र भारतबीच पहिलो पटक मैदानमा भिड्न लागेको हो ।

साफको इतिहासमा पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाएको नेपाली टोली चीरप्रतिद्वन्द्वी भारतलाई पराजित गरेर उपाधि जित्दै इतिहास रच्ने दाउमा छ । तर भारत प्रतियोगिताको इतिहासमा सर्वाधिक सफल टिम हो । भारतले यस अघि सात पटकसम्म उपाधि चुमिसकेको छ भने आठौं पटक साफ च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्य साथ मैदानमा उत्रने छ । तीन दशकभन्दा लामो ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा नेपालभन्दा भारत धेरै बलियो सावित भैसकेको छ ।

भारत फिफा वरियतामा पनि नेपालभन्दा धेरै माथि छ । तर पनि भारतका लागि नेपाल सधैं कडा प्रतिद्वन्द्विको रुपमा रहँदै आएको छ । भारतले नेपालसँगको खेलमा कडा मिहिनेत गर्नु परेको इतिहासले देखाउँछ । यद्यपि, नेपालले यसपटक खेलको स्तरमा गुणात्मक सुधार गरेकोले भारतका लागि जित त्यति सहज छैन । नेपाल पनि साफ च्याम्पियनसिपको दावेदार टोली हो ।

खेलअघि पत्रकार सम्मेलनमा नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ नेपालले भारतविरुद्ध पुरानो खेललाई बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताएका छन् । नेपाली टिमका कप्तान किरण लिम्बुले भने माल्दिभ्स आफ्नो दोस्रो घर रहेकाले स्थानीय समर्थकले नेपाललाई साथ दिने बताएका छन् ।

‘माल्दिभ्स मेरो दोस्रो घर हो । यहाँ मैले दुई वर्ष टिसी स्पोट्र्स क्लबका लागि खेलेको थिएँ । मलाई यहाँ धेरैले चिन्नुहुन्छ । यहाँ खेल्न पाउँदा खुशी लागेको छ र आशा छ नेपालकै समर्थनमा आउनुहुनेछ । हामी इतिहास रच्न खेल्नेछौं’ कप्तान किरणले उत्साहित हुँदै आफ्नो धारणा व्यक्त गरेका छन् ।

बुधबार भएको खेलमा नेपालले बङ्गलादेशलाई १–१ गोलको बराबरीमा रोकेर पहिलो फाइनलको यात्रा गरेको हो भने सात पटकसम्म उपाधि चुमेको भारतले डिफेन्डियन च्याम्पियन आयोजक राष्ट्र माल्दिभ्सलाई ३–१ को फराकिलो गोल अन्तरले हराएर फाइनलमा पुगेको हो ।