ढाका – बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमा आक्रमणका कारण हिंसा भड्किँदा त्यहाँस्थित अधिकांश दुर्गा पूजास्थलमा व्यापक तोडफोड भएको छ । हिंसा भड्किदा कम्तिमा एक सय ५० अल्पसङ्ख्यक परिवारमाथि हमला भएको र उक्त हमलामा परी तीन जना व्यक्तिको मृत्यु भएको छ । अधिकारीहरूले पुष्टि गरेका छन् ।

बङ्गलादेशको कोमिल्ला जिल्लामा एक पूजा स्थलमा कुरानको कथित अपमानको अफवाहपछि हिंसा भत्किएको हो । हिंसा भड्किएपछि तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते अन्तराष्ट्रिय समाचार संस्था बीबीसले उद्धृत गरेको छ । उक्त स्थानमा भारी सुरक्षाबल तैनाथ गरिएको छ । प्रहरीले अहिलेसम्म हिन्दु मन्दिर, घर तथा पसलहरूमा आक्रमण गरी तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको समाचारमा जनाइएको छ । स्थानीयवासीले त्यहाँ यस्तो खालको घटना पहिलोपटक भएको बताएका छन् । यो घटना एउटा फेसबुक स्ट्याटसका कारण घट्न पुगेको हो ।

बङ्गलादेशमा सन् २०११ मा गरिएको जनगणनाअनुसार त्यहाँको कुल १४ करोड ९० लाख जनसङ्ख्यामध्ये ८ दशमलव ५ प्रतिशत हिन्दु रहेका छन् । कोमिल्ला जिल्ला सहित अन्य थुप्रै जिल्लाहरूमा हिन्दु समुदायको मानिसहरूको ठूलो सङ्ख्या रहेको छ । पश्चिम बङ्गालका थुप्रै सङ्गठनहरूले बुधबार राति भएको हिंसाको निन्दा गरेका छन् । विश्व हिन्दु परिषद्ले समेत यस घटनाको गम्भीर रूपमा छानविन गर्न माग गरेको छ । न्यूज एजेन्सी