ताप्लेजुङ– ताप्लेजुङमा आज बिहीबार जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन् । दशैंको अवधिमा देशका विभिन्न टाउँमा ठूला सवारी दुर्घटना भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना यात्रु गम्भीर घाइते छन् भने बाँकी यात्रुहरुको अवस्था सामान्य रहेको समाचार छ ।

जिल्ला सदरमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप आज दिउँसो करिब साढे १२ बजे ब्रेकफेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिए अनुसार उक्त दुर्घटनामा परी घाइते हुनेमा बालबालिकासमेत रहेका छन् । घाइते सबैको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ । उक्त जिपमा क्षमताभन्दा धेरै यात्रु रहेकाले ब्रेकफेल हुन गै जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।