सुर्खेत – मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायव उपरीक्षको संयोजकत्वमा एकसमिति गठन गरेको छ । उक्त समितिले बस दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई १० दिन भित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य रहेका छन् । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नंको उक्त बस मङ्गलबार जुम्ला–मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेश गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने बताउँदै प्रहरी नायब महानिरीक्षक ऐरले भने, ‘बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो त्यसको अध्ययन हुनेछ।’ रासस