इटलीका प्रधानमन्त्री मारिओ ड्राघी, फाइल तस्वीर ।
रोम– इटलीमा भएको जि–२० को बैठकले अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको निष्कर्ष निकालेको छ । अफगानिस्तानका विषयमा भएको जि–२० को जुम बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

उक्त बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री मारिओले ‘हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौं, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ’– भन्नुभयो । अफगानिस्तानको विषयलाई लिएर इटालीले जि–२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जि–२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए ।

सेप्टेम्बर १५ मा तालिवानी विद्रोहीले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि त्यहाँ मानवीय सङ्कट सिर्जना भएको छ । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् । यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको छ । अमेरिकाले पनि अफगानिस्तानमा मानवीय सहायतालाई निरन्तरता दिने बताएको छ । उद्यपि, उसले तालिवानी सरकारलाई मान्यता नदिने भनिरहेको छ ।