फाइल तस्वीर ।
काठमाडौं – साफ च्याम्पियनसिन फुटबल–२०२१ को उपाधिका लागि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नुपर्ने भएको छ । माल्दिभ्समा भैरहेको चालु संस्करणको साफ च्याम्पियनसिपमा शनिबार नेपाल र भारतबीच फाइनलमा भिड्ने पक्का भएको हो । बुधबार राति भएको खेलमा डिफेन्डियन च्याम्पियन माल्दिभ्सलाई उसकै मैदानमा ३–१ को फराकिलो गोल अन्तरले हराउँदै भारतले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।


बुधबार साँझ भएको अर्को खेलमा हारको नजिक पुगेको नेपालले खेल सकिन अन्तिम २ मिनेट बाँकी रहँदा ८८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बङ्गलादेशसँग १–१ गोलको बराबरी नतिजा निकाले पछि २८ वर्षे साफ च्याम्पियनसिपको प्रतियोगिताको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । लिग चरणमा अन्तिम आठ मिनेट सम्हालिन नसक्दा नेपाल भारतसँगै १–० ले पराजित हुन पुगेकोे थियो । उक्त खेलमा भारतसँग बराबरी नजिता निकाल्न सकेको भए नेपाल एक खेल अगावै फाइनल यात्रा तय गर्ने थियो ।


साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा नेपाल फाइनलमा पुग्न सकेको थिएन । तर नेपाललाई पछि सधैं दावेदारको रुपमा हेरिने गरिन्थ्यो । आगामी शनिबार हुने फाइनलमा दुवै टिम उच्च मनोबलका साथ मैदानमा उत्रने भएका छन् । त्यसो त भारत नेपालमाथि सधैं हावी हुँदै आएको छ । पहिलो पटक फाइनलमा पुगको नेपाली टिम र सात पटकसम्म उपाधि रक्षा गरेको भारतबीचको फाइनल निकै रोमाञ्चक र प्रतिस्पधा हुने देखिन्छ । यस पटकको उपाधि नेपालले चुम्न सके एकै पटक दुई ऐतिहासिक सफलता प्राप्त गर्ने छ । पहिलो, फाइनलमा पुग्ने आफैंमा ऐतिहासिक सफलता हो भने दोस्रो, उपाधि चुम्नु इतिहास रच्ने अर्को सफलता पनि हो ।

माल्दिभ्समा भैरहेको साफ च्याम्पियनसिपको चालु संस्करणमा यसपटक नेपालसहित आयोजक राष्ट्र माल्दिभ्स, भारत, बङ्गलादेश र श्रीलङ्का गरी पाँच टोलीले मात्रै सहभागिता जनाएका थिए । राति भएको खेलमा भारतका लागि मनवीर सिंहले ३३ आंै मिनेटमा गोलगर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । मनवीरले ब्रेन्डन फर्नान्डेजको पासलाई दायाँ पहिलो बारमा च्यापेर हानेको सशक्त प्रहारलाई माल्दिभ्सका गोलकिपर मोहम्मद फैजलले रोक्न नसक्दा उक्त बलले चालि चुमेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा भारतका प्रित्तम कोटलले माल्दिम्सका हमजा मोहम्मदलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि माल्दिभ्सका अली अश्फाकले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए ।

खेलको ६२ औं मिनेटमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोल गर्दै आफ्नो टिमको गोल दोब्बर पारे । सुनिलले मनबीरको पासमा दायाँ खुट्टाले पहिलो बार च्यापेर हानेको सशक्त भलीलाई माल्दिभ्सका गोलकिपर फैजले ठम्याउन सकेनन् । खेलमा फर्किने प्रयास गरिरहेको माल्दिभ्सका लागि कप्तान सुनिल नै ७१ औं मिनेटमा पुनः अर्को गोल गर्दै भारतको लागि फाइनलको यात्रा पक्का गरेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा क्षेत्रीको यो ७९ औं गोल हो । सुनिलले त्यसअघि २६औं मिनेटमा हानेको हेडिङ प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।
राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगितामा लिगको शीर्ष दुईमा रहने टिमबीच फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । भारतले आठ अङ्क जोड्दै शीर्ष स्थान पक्का गर्दा नेपाल सात जोड्दै दोस्रो स्थानमा रहेर फाइनल पक्का गरेको हो । भारतसँग पराजित माल्दिभ्सको ६ अङ्क थियो । भारतले यस प्रतियोगितामा सात पटक उपाधि उचालिसकेको छ भने नेपाल पहिलो पटक फाइनलमा भिड्न लागेको छ । नेपाल र भारतबीच फाइनलमा पहिलो पटक शनिबार भिड्ने भएका छन् ।