मोरङ – नेपाल प्रहरीले सिटिजन्स बैंक लुट्न गएका तीन जनालाई पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको सिटिजन्स बैंकमा रहेको रकम लुटमा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।


बैंकमा लुटपाटको प्रयास गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभएको छ । बैंक लुट्ने प्रयास गर्नेमा विराटानगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया–४ का ३० वर्षीय विजय सहनी (बायाँ तिघ्रामा गोली लागी घाइते भएका) रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको अभियुक्तहरुलाई रङ्गेलीस्थित प्रहरी कार्यालयमा राखिएको छ भने उक्त घटनामा संलग्न फरार अन्य ६ जना व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट घटनास्थलमा प्रयोग भएको पेस्तोल, ३ राउण्ड गोली र नोकिया कम्पनीको एक मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो । गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् । घटनाको अनुसन्धान गरिरहेको बताउँदै लुटेराको साथबाट नगद नभेटिएको प्रहरीले जनाएको छ ।