प्यारी बहिनी
शुभाशिर्वाद !
तिमी आरामै छ्यौ होला भन्ने विश्वासमा छु । तिमी आउने आशामा हामी बाटो हेरेर बसेका छौं । नेपाली घर आँगनमा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वले पदार्पण गरिसकेको छ । हामीमात्र होइन, हजारौं बा–आमा, दिदी–बहिनी, दाजु–भाई, छोरा–छोरीहरु विदेशमा रहेका आफ्ना प्रियजनहरु फर्किने आशामा उनीहरुलाई कुर्दै मझेरीमा टोलाईरहेका छन् । नयाँ लुगा र परदेशी सन्तानको कोसेली, न्यानो मायाको स्वाद र आफ्नोपनको लालचामा चौतारीमा पर्खिबसेका छन् ।


विकास र आधुनिकीकरणका नाममा मोवाइल, फेसबुक, टेलिभिजन च्यानल, गाडी र मोटरसाइलकले साम्राज्यवादको नीति अवलम्बन गरेको अनुभूति भैरहेछ । हाम्रा परम्परा र महत्व बोकेका धर्म र संस्कृतिलाई विदेशी संस्कृतिले विस्थापित गरिसकेछ । आफ्नै छरछिमेक पनि पराई जस्ता भैरहेका छन् । म सम्झन्छु –हिजोका हाम्रा ती सेता कमेरा र राता माटाले लिपेका मनमोहक घर र बस्तीहरु । पाटी पौवा, चौतारीमा बसेर रमाइलो गर्ने हाम्रो परम्परा आज विलाशी जीवनको सिकार बनिरहेको छ । तिमीले गाउँछोडेर गएको अस्तिभर्खर जस्तो लाग्थो, तर एक दशक भैसकेछ । हेर्दाहेर्दै गाउँले आधुनिकीकरणका नाममा काँचुली फेरिसकेछ । हामीले आफ्नो धर्म, संस्कृति र परम्परालाई बिर्सन थालिसकेछौं ।
हिजो गोठालो जाँदा, घाँस दाउरा जादाँको हाम्रो गाउँलाई शहरिया रहनसहनले गाँजेको छ । हिजोको आफ्नोपनको परिवेश शहरी आचरणमा परिवर्तन भएको महसुस भैरहेको छ । छर छिमेकीको अ‍ैंचो–पैंचो, सहयोगी भावना अब परदेशी भएछ । तर आफ्नो गाम–वेशी, डाँडा–पाखा, मात्र नभै देशै विरानो बनेको छ । हायः मेरो देश, मेरा यी गाम–बेशी, डाँडा–पाखा । हिजो पल्लाघरे माइलाबाको खसी यति धार्नी र विसौली भन्थे, कान्छा बाले यति धार्नीको काटे भन्थे, कस्को ठूलो खसी भन्ने हेर्न जाने आउने हुथ्यो । आत्मीय भावना झल्किन्थ्यो तर त्यो आत्मीय भावना त अब मासु पसलमा पुगेछ ।


बिहानी झिसमिसे नहुँदै पल्लो घरका आमा, भाउजु, बुहारीहरु ढिकेरीमा चिउरा कुट्दै भक्र्याईं ट्याइ–भक्र्याईं ट्याइ गर्ने ढिकेरीमा आफ्ना पैताला बजार्थे ।कति आमाहरु परदेश गएका सन्तानलाई सेलरोटी र मीठा परिकार बनाएर खुवाउन जाँतोलाई ¥वाईं ¥वाईं घुमाउँदै चामलको पिठो पिस्थे । पल्लो घरमा कुखुरी काँ गरेर भाले बासेको छ, खोरमा लम्काने खसी म्याँम्याँ गर्दै कराउँदा दशैंको रौनक थपिएको हुन्थ्यो । लेक र बेसीमा लहलह धानका बालाहरु झुलेका हुन्थे । उत्तरतिर हे¥यो चाँदीझै टिलिक्क टल्कने सेता हिमशिखरहरुले दशैं तिहारलाई नियाल्र्दै शरद् ऋतुको आगमनलाई स्वागत गरिरहेको आभाष हुन्थ्यो । साँच्चै कति सुन्दर र शान्त थियो, हाम्रो देश । प्राकृतिक सुन्दरताले भरिपूर्ण मेरो देश आज पराइको चक्रब्युहमा जकडिएको छ ।


तिमी जन्मे हुर्केको हाम्रो गाउँ विस्तारै बिरानो बन्दै गएको छ । खेत र गह्राहरु बाँझा देखिएका छन् । पौरखी युवा शक्ति विदेशीका गुलाम बन्न बाध्य छन् । घरबारीमा फलेका बेलौतीहरु त्यतिकै बारीमा सडेका छन् । विदेशी हुस्की र वियरले गर्दा भदालो भरिको दुध र ठेकीको मोही खान कसैलाई मोह छैन । तिहारमा गाउँनै मगमग बास्ना आउने गरी आमा दिदी बहिनीहरुले पकाएका सेलरोटी, फिनी, अनरसाको स्वादमा भन्दा विदेशी चकलेटमा रमाउने नयाँ पुस्तालाई के थाहा त्यो आफ्नै घरमा बनाइएको दुध, मोही र ति नेपालीपनको मीठा परिकारको स्वाद । उनीहरुलाई के थाहा साथीभाई जमघट भएर मेरो पालो र तेरो पालो भन्दै खेलिने ती लिङ्गे पिङ्ग, रोटे पिङ्ग र जाँते पिङ्गको मज्जा । मादल र खैंजेडी, मुजुरा र बाँसीको तालमा गाइने देउसी भैलोको हाम्रो संस्कृतिलाई आज पप गीत र पाश्चात्य संगीत विस्तापित गरेको छ । हामी आफ्नो पहिचान गुमाउँदै पराइको संस्कृतिमा धुनधामले हर्ष मनाइरहेका छौं । हामी आफ्नै देशमा पराइ जस्तै बनिरहेका छौं ।


बहिनी, तिमी र तिमीजस्ता लाखौं युवा जनशक्ति धेरै पढ्ने र धन कमाउने लालचामा विदेशी भूमिमा आफ्नो यौवन र पौरखी पाखुरा सस्तो मूल्यमा बेचेर रमाइरहेका छौ । देशमा रोजगार र कुनै अवसर नपाएर होनाहार युवाहरु विदेशका गल्लिमा कुल्ली र दर्वानको निम्ति भौतारिरहेका छन् । तर घरमा बा–आमाहरु आफ्ना छोराछोरीहरु आउँछन् भन्ने आशामा पर डाँडातिर गोधुली साँझसम्म आँखा तानीतानी हेरेर प्रत्येक दिन बिताइरहेका छन् । बारीका कान्ला र ढिस्कामा सयपत्री, मखमली र गोदावरी पूmलहरु लटरम्म फुलेर तिमीलाई पर्खी बसेका छन् । तिहारमा दाजुभाइको निधारमा दिदी बहिनीले लगाइ दिने सप्तरङ्गी टिकाको महत्वलाई हामीले विस्तारै विर्सन लाग्यौ कि भन्ने भान भैरहेछ । गाम–वेशीका खेतका फाँटमा पहेंलपुर धानका बालाहरु लहलह झुलेर तिमी जस्ता युवालाई स्वागत गर्न आतुर छन् । लिङ्गे पिङ्ग, रोटे पिङ्ग र जाँते पिङ्गले तिमीसँगको अतितको साइनालाई नवीकरण गर्न पर्खिबसेका छन् । हाम्रो अस्तित्व र पहिचान कतातिर लुकेछ ? पत्तो छैन हामी आफैंलाई । र, हामी आफैं आफ्नो पहिचान र अस्तित्वबाट विस्थापित पो हुन पुगेछौं आधुनिकीकरणको नाममा ।


प्यारी बहिनी, देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो तर होनाहार युवाहरु विदेशीको गुलाम बनेका छन्, लाखौं चेलीहरु खाडी मुलुकमा आफ्ना अस्मितालाई लुटाउन बाध्य बनाइएका छन् । घरपरिवारलाई राम्रो मिठो मसिनो र सुख सुविधा होस् भन्ने सपना साँधेर धनआर्जनका नाममा युवाशक्ति सस्तो श्रम बेचेर विदेशी भूमिमा आफ्नो रगत पसिना बगाइरहेका छन् । हाम्रा शाषकहरु त्यही रेमिटेन्समा डुबुल्कि मार्दै आहाल खेलिरहेका छन् । आज हामी आफैंले विकास र आधुनिकीकरणको नाममा विदेशी धर्म र संस्कृतिलाई प्रश्रय दिइरहेका छौं । आफ्नो देशको धर्म, संस्कृतिर परम्परालाई अतिक्रमण गर्न आफैं उद्त भैरहेका छौं । हामीले आफ्नो पहिचानलाई निमिट्यान्न पार्न खोजिरहेका छौं । हामी आफैंले गर्दा आज आफ्नै गाउँ ठाउँ विरानो बन्दै गएको छ ।


प्यारी बहिनी, देशलाई परचक्रीको जञ्जिरबाट जोगाउनु छ । मुक्ति दिलाउनु छ । सबैलाई आह्वान गर फर्क देश रोहिरहेको छ । दशैं तिहार, छठ र नेपाल सम्वत् जस्ता नेपाली पहिचान बोकेका विशिष्ट चाडपर्वले यहि भनिरहेछ । आउ छिट्टै फर्क देशले तिमी जस्ता होनहार युवालाई पर्खिरहेको छ । ढिला नगर, क्रान्ति तिमीलाई पर्खी बसेको छ । आउ, अब यो देशमा विद्रोहको खाँचो छ । देश बनाउनु छ । हामीले आफ्नो धर्म र संस्कृतिलाई जोगाउनु छ, संरक्षण गर्नु छ । कुरितीलाई फाल्नु छ । देश निर्माणमा जुट्नु छ । तिमीलाई असीम माया गर्ने दाजु । 