ताइवानले आफ्नो देशको भविष्य आफ्ना नागरिकको हातमा रहेको बताएको छ । चीनको दबाबका सामु आफूहरु नझुक्ने ताइवानकी राष्ट्रपतिले बताएकी छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै आफ्नो सम्बोधनमा ताइवानसँग ‘पुनः एकीकरण’ गर्नुपर्ने बताएका थिए । सकेसम्म शान्तिपूर्ण प्रक्रिया अपनाइने बताएका सीले ‘पुनः एकीकरण’ को प्रक्रियामा बल प्रयोगको सम्भावना खारेज गरेको छैन ।

ताइवानकी राष्टपति साई इंग–वेनले आफ्नो देशको सुरक्षा व्यवस्था बलियो बनाइराख्ने र आफ्नो भूमिमा कसैलाई पनि शक्तिको प्रयोग गर्न नदिने बताएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार आइतबार राष्ट्रिय दिवसको ¥यालीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘हामी हाम्रो राष्ट्रिय सुरक्षा बलियो बनाउने क्रम जारी राख्ने छौँ र आफ्नो सुरक्षाका लागि प्रतिबद्ध छौँ ताकि कोही पनि ताइवानलाई त्यो मार्गमा जान बाध्य नपारियोस्, जुन चीनले हाम्रा लागि बनाइरहेको छ ।’

‘चीनले जुन प्रस्ताव गरेको छ, त्यो प्रजातान्त्रिक होइन र ताइवानका लागि एक लोकतान्त्रिक तरिका पनि होइन। उसलाई हाम्रा दुई करोड ३० लाख मानिसको सम्प्रभुता पनि मिल्ने छैन’, साईले भनेकी छन्। ताइवान आफूलाई स्वतन्त्र सार्वभौम देश मान्छ । तर चीन भने ताइवान आफ्नो छुट्टिएको प्रान्तको रुपमा लिने गरेको छ । हालै १ सय ५० वटा चिनियाँ सैनिक विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए। त्यसले तनाव थप बढेका बेला चिनियाँ राष्ट्रपति सीले चिनियाँ क्रान्तिको १ सय १० औँ वर्षगाँठका अवसरमा गरेको सम्बोधनमा ‘पुनः एकीकरण’ को प्रक्रिया पूरा गर्नुपर्ने बताएका थिए ।