काठमाडौं – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १–० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२ औं मिनेटमा गोल गरे । पहिलो हाफमा पनि सुनिल क्षेत्री र मनविर सिंहले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

नेपाल पराजित भएपछि पाँच राष्ट्र सहभागी साफमा फाइनल पुग्ने समिकरण रोमाञ्चक बनेको छ । अब अन्तिम म्याच डे का दिन फाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ ।

नेपाल र माल्दिभ्सको समान ६ अङ्क भएको छ । भारत ५ अङ्क जोडेर तेस्रो स्थानमा छ । बङ्गलादेश ३ खेलबाट ४ अङ्कसहित चौथो स्थानमा छ । ४ वटै खेल खेलिसकेको श्रीलङ्का भने १ अङ्क जोडेर बाहिरिसकेको छ । अब बुधबार नेपालले बङ्गलादेशसँग र भारतले माल्दिभ्ससँग खेल्नेछ । अब नेपाललाई फाइनल पुग्न कम्तीमा पनि बङ्गलादेशविरुद्ध बराबरी खेल्नुपर्नेछ ।