काठमाडौं– साफ च्याम्पियनसिपको चालु संस्करण अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपालले भारतलाई हराउन सके फाइनल यात्रा तय गर्ने छ । माल्दिभ्समा सञ्चालन भैरहेको साफ च्याम्पियनसिम फुलबलमा नेपालले यस अघिका दुवै खेलमा सहज जित निकालेको थियो । नेपालले आज आइतबार आफ्नो तेस्रो खेल भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुई खेलमा जित निकालेको नेपाली टोली उच्च मनोबलका साथ चिरप्रतिद्वन्द्वी भारतसँग खेल्ने छ ।

राति पौने १० बजेपछि सुरु हुने खेललाई महत्वका साथ हेरिएको छ । सात पटकसम्म उपाधि रक्षा गरेको भारतले चालु संस्करणमा उपेक्षाकृत खेल पस्कन नसक्दा यस्को फाइदा नेपालले उठाउने मौका पनि छ । साफमा सबैभन्दा सफल र बलियो टोलीको रुपमा रहेको भारतले यस पटक जित निकाल्न सकेको छैन । यस अघि भएका दुवै खेलमा भारत बारबरीमा रोकिएको थियो । नेपालले आज भारतलाई हराउन सके एक खेल खेल्न बाँकी छँदै फाइनलमा पुग्ने छ ।

हिजो शनिबार भएको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले आइतबारको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको दावी गर्दै भारतमाथि खेलको कुटनीतिक दवाव दिएका छन् । पत्रकारसम्मेलनमा उनले भने ‘भोलिको खेल महत्त्वपूर्ण छ । भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो, सातपटकको विजेता हो । यू–२३ टोलीले नै उपाधि जितेको इतिहास छ । खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ, बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ ।’

भारत बलियो टोली भए पनि नेपाली टोलीले डराएर नखेल्ने प्रशिक्षक अब्दुल्ला अलमुताइरीले बताएका छन् । ‘विश्व बरियतामा हामीभन्दा भारत निकै माथि छ । तर हामी उनीहरुसँग डराउँदैनौं । हामी जित्नका लागि प्रयास गर्नेछौं’– अलमुताइरीले भने ।

सहभागी टोली मध्ये आयोजक माल्दिभ्स, नेपाल र भारतले समान दुई खेल खेल्दा बङ्गलादेश र श्रीलङ्काले ३ खेल खेलिसकेका छन् । नेपाल ६ अङ्कका साथ शीर्षस्थानमा छ भने बङ्गलादेशले ४ अङ्क जोडेको छ । यता आयोजक राष्ट्र माल्दिभ्सको ३ अङ्क भने सात पटकको विजेता भारतको २ अङ्क मात्रै छ । आज भारतले नेपाललाई हराउन सकेमा ३ अङ्क थपेर ५ अङ्क पुर्याउने दाउमा छ । नेपालले भारतलाई बराबरीमा मात्रै रोके पनि नेपालको फाइनलको यात्रा करिब करिब पक्का हुने छ । यो संस्करणमा १ अङ्कमात्र जोडेको श्रीलङ्काले आज दिउँसो आयोजक राष्ट्र माल्दिेभ्ससँग भिड्ने छ । श्रीलङ्का अङ्क तालिमामा पुछारमा रहेकोले च्याम्पियनसिपबाट बाहिरिसकेको छ । उसले आज माल्दिभ्सलाई हराउन सके नेपाललाई फाइदा पुग्ने छ । माल्दिभ्स र भारत दुवै टिमले आज दवावको सामना गर्नुपर्ने देखिन्छ ।