मुख्यमन्त्रीका उम्मेदवार राजेन्द्र पाण्डे, फाइल तस्वीर ।
हेटौंडा– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छिट्टै विश्वासको मत लिने हुनुभएको छ । आज आइतबारदेखि सुरु हुनलागेको बागमती प्रदेशसभाको नवौं अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो ।


गठबन्धनको गणितीय हिसाव हेर्दा मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना ज्यादै न्यून छ । कुल १०९ सदस्य सङ्ख्या रहेको बागमती प्रदेशसभामा गठबन्धन दलको ५९ सङ्ख्या छ । जसमध्ये नेकपा माओवादी केन्द्रको २३, नेपाली काङ्ग्रेसको २२, एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीको १३ र जनता समाजवादी पार्टीको १ जना प्रदेशसांसद् छन् । यी सबैको मत मुख्यमन्त्रीको विपक्षमा पर्ने छ । त्यसैगरी ३ जना सांसद रहेको विवेकशील साझा पार्टीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।


एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि मुख्यमन्त्री शाक्यको पद धरापमा परेको हो । दल विभाजन भएको मितिले ३० दिन भित्र प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्था भएका कारण वाध्यभएर मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठक आह्वान गर्नुभएको हो । हाल बागमती प्रदेशसभामा एमालेका ४३ जनामात्रै सांसद् छन् । पार्टी विभाजन हुनुपूर्व एमालेमा ५६ जना सांसद सङ्ख्या रहेको थियो । मुख्यमन्त्री शाक्यको पद जोगिन आवश्यक पर्ने मत भनेको ५५ हो । एमालेको अन्य कुनै पनि दलसँग सहकार्य हुने सम्भावना छैन ।


बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसले दावी गर्दै आएता पनि केन्द्रीय गठबन्धनमा भएको छलफलमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भैसकेको छ । तर नेपाली काङ्ग्रेसले यो विषयमा पुनः असन्तुष्टि प्रकट गर्दै आएको छ । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेसका प्रभावशाली नेताका रुपमा देखिएका इन्द्रबहादुर बानियाँले आफुलाई मुख्यमन्त्री बनाउन पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक आग्रह गर्दै विभिन्न तरहले लविङ समेत गर्दै आउनु भएको थियो ।


सङ्घीय संसद्मा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एकीकृत समाजवादीको महत्वपूर्ण भूमिका रहेकोले गठबन्धन दललाई बलियो बनाउन र राजनीतिक सन्तुलन राख्न पनि एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलहरु तयार भएका हुन् । बागमती प्रदेशले आज या भोलिसम्ममा राजेन्द्र पाण्डेलाई नयाँ मुख्यमन्त्रीको रुपमा पाउने देखिएको छ ।