काठमाडौं – एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इङ्ग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । पछिल्लो खेलमा गेराथ साउथगेटको टोलीले पोल्याण्डविरुद्ध बराबरी खेल्दै अङ्क गुमाए पनि १५६ औँ वरियतामा रहेको एन्डोराविरुद्ध भने गोल वर्षा गरेको हो ।

कप्तान ह्यारी केनलगायत खेलाडीहरुलाई शनिबारको खेलमा आराम दिए पनि फिल फोडेन र जाडोन सान्चोलगायत युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । सान्चोको पासमा बेन चिल्वेलले खेलको १७ औँ मिनेटमा इङ्ग्ल्याण्डलाई अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा बुकायो साकाले फोडेनको पासमा टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा सान्चोले पुनः ट्यामी अब्राहमका लागि गोलको अवसर सिर्जना गरे । ७९ औँ मिनेटमा जेम्स वार्ड प्राउसले इंग्ल्याण्डका लागि चौथो गोल गरे भने खेलको अन्त्यतिर ज्याक ग्रिलिसले गोल गर्दै इङ्ग्ल्याण्डलाई फराकिलो जीत दिलाए ।

समूह आई कै अन्य खेलमा पोल्याण्डले सान मारिनोलाई समान ५–० गोलअन्तरले पराजित गरेको छ । अल्बानियाले हंगेरीलाई १–० ले हरायो । ७ खेलपछि इङ्ग्ल्याण्ड १९ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । १५ अङ्क बटुलेको अल्बानियो दोस्रो तथा एक अंकले पछि रहेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ । एजेन्सी