फोटो नवसञ्चार अनलाइन ।

दमौली – दसैंका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । जिल्लाका १० सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख ३६ हजार ७ सय ९१ रुपैयाँको खसीबोका बिक्री भएका हुन् ।

दुई हप्ताको अवधिमा एक हजार ८ सय १७ खसी बिक्री भएका छन् । ती सहकारीले दुई करोड ७९ लाख ८९ हजार २४५ मा कृषकसँग खसीबोका खरिद गरी दुई करोड ८२ लाख ३६ हजार ७ सय ९१ रुपैयाँमा बिक्री गरेका छन् ।

घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले २० लाख ६५ हजार चार सय ५९ को खसी बिक्री गरेको अध्यक्ष शारदा आलेले जानकारी दिइन् । सहकारीमार्फत् १ सय ५२ खसी बिक्री भएका छन् । घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत् ४३ लाख ९५ हजार तीन सय रुपैयाँको खसी बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेले ३ सय ९ वटा खसी बिक्री भएको जानकारी दिइन् ।

घिरिङ गाउँपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत ५० लाख ३९ हजार ६ सय २४ रुपैयाँ खसी बिक्री भएको अध्यक्ष सङ्गीता रानाले बताइन् । उक्त सहकारीमार्फत ३ सय ७२ खसी बिक्री भएको छ ।

भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत आठ लाख ७९ हजार ३ सय ९० रुपैयाँको खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत् ५६ खसी बिक्री भएको अध्यक्ष सीताकुमारी तिमिल्सिनाले बताइन् । भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६३ लाख एक हजार ६ सय ४९ को खसी बिक्री भएको अध्यक्ष देवी मुक्तान आलेले बताइन् । सहकारीमार्फत ३ सय २५ खसी बिक्री भएको छ ।

शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत पाँच लाख चार हजार ४ सय ९५ को खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत् ३६ खसी बिक्री भएको अध्यक्ष नेत्रकुमारी वंशीले बताइन् ।

फाइल तस्वीर

व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत २२ लाख ९४ हजार १ सय ४६ रुपैयाँको खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक संगीता पौडेलले सहकारीमार्फत १ सय ४५ खसी बिक्री भएको जानकारी दिए । व्यास नगरपालिका–१२ स्थित आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत सात लाख ५८ हजार २ सय १० रुपैयाँको खसी बिक्री भएको छ । सहकारी व्यवस्थापक नवीन सुर्खालीका अनुसार सहकारीबाट ५० वटा खसी बिक्री भएको छ ।

सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत ३७ लाख ४२ हजार २ सय ९० रुपैयाँको खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक सरिता थापाका अनुसार सहकारीबाट २ सय ४० खसी बिक्री भएको छ ।

सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत २२ लाख ५५ हजार ५ सय ९८ रुपैयाँको खसी बिक्री भएको छ । उक्त सहकारीबाट १ सय ३२ खसी बिक्री भएको अध्यक्ष निर्मला कोइरालाले जानकारी दिइन् । सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।

बजारको समस्या नभएपछि गाउँमा बाख्रापालन गर्ने कृषकको सङ्ख्या बढेको र बाख्रापालनबाटै कृषक आत्मनिर्भर बन्न सफल भएको भिमाद नगरपालिका–९ का बाख्रापालक कृषक शिवकुमार आलेले जानकारी दिए ।

बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।

हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आवद्ध छन् । परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ । रासस