काठमाडौं — नेपाली फिल्म क्षेत्रका ९ अभिनेत्रीले ‘राष्ट्रिय नवदुर्गा सम्मान’ पाएका छन् । हिजो चलचित्र विकास बोर्डमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्मस्ले संयुक्त आयोजना गरेको कार्यक्रममा अभिनेत्रीलाई सम्मान दिइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अभिनेत्रीहरूलाई सम्मान दिनु भएको थियो । सम्मान पाउनेमा चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ल र पछिल्लो पुस्ताकी केकी अधिकारी, सुरक्षा पन्त, निता ढुंगाना, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरी रहेका थिए ।

कलाकारिताको माध्यमबाट नेपाली फिल्म क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको हो । २०७६ सालबाट अभिनेत्री रेजिनाले ‘राष्ट्रिय नवदुर्गा सम्मान’ सुरु गरेकी हुन् । रेजिना इन्टरटेनमेन्ट प्रा.लि. अभिनेत्री रेजिना र शहीद फिल्मस् प्रा.लि. अभिनेत्री विमल केसीको फिल्म निर्माण कम्पनी हो ।

कार्यक्रममा मन्त्री भुसालले कोरोनाले थलिएको फिल्म क्षेत्रको समस्या समाधान गर्न सक्दो प्रयास गर्ने बताउनुभयो । ‘नवदुर्गा सम्मान’ हरेक वर्ष ९ जनालाई दिने गरिन्छ ।