काठमाडौं — चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । यो वर्ष नेपालले भने ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तीको लक्ष्य राखेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २ दशमलव १ प्रतिशतले ऋणात्मक रहेको नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७७/७८ मा १ दशमलव ८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकको भनाइ छ । कोभिड महामारीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव क्रमशः कम हुँदै जाँदा यसले अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेको देखिएको छ । खासगरि खोप अभियान तीव्र गरिएका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा समेत सकारात्मक सुधार देखिन थालेको छ । विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

सामाजिक दूरी कायम गर्दै आर्थिक गतिविधिलाई निरन्तरता नदिने हो भने आर्थिक सङ्कट अझ गहिरो बन्न सक्ने विश्व बैंकले उल्लेख गरेको छ । यो वर्ष समग्र रुपमा हेर्दा दक्षिण एसियाली मुलुकले भने आर्थिक वृद्धिदरमा फड्को मार्ने विश्व बैंकको प्रक्षेपण छ । यसमा सबैभन्दा ठूलो योगदान पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको रहने छ ।

दक्षिण एसियाको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत रहने छ । यसमा सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशत योगदान रहने छ भने भारतको ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने देखिएको छ । सबैभन्दा कम श्रीलङ्काको २ दशमलव १ प्रतिशत मात्र रहने देखिएको छ ।बङ्गलादेशले भने ६ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ ।

भुटान, पाकिस्तान र नेपाल भने उस्तै प्रकारको अवस्थामा रहने देखिएको छ । कोरोना महामारीले दक्षिण एसियामा गरिब र धनी बीचको खाडल मात्र बढाएको छैन, गरिबी समेत थपेको छ । विश्व बैंकका अनुसार सन् २०२१ मा मात्र यस भेगमा ४८ देखि ५९ लाख मानिस गरिबीको रेखामुनि रहेको अनुमान छ ।