जम्मु कश्मीर -भारतको कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । आज एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघिगत मङ्गलबार पनि श्रीनगरमा तीन जनाको हत्या भएको थियो ।

गोली लागेका दुवै शिक्षकलाई अस्पताल लगिएता पनि चिकित्सकहरुले उनीहरुलाई मृत घोषित गरेका थिए । जम्मु कश्मीर प्रहरीले भने यसलाई आतङ्कवादी आक्रमण भएको बताएको छ । जम्मु कश्मीर प्रहरीका डीजीपी दिलबाग सिंहले पछिल्ला केही घटना आम नागरिकलाई लक्षित गरी भइरहेको र मानिसहरुमा डर उत्पन्न गर्ने प्रयास भएको बताउनुभएको छ । उहाँले यस्ता घटनाहरु पाकिस्तानको एजेन्सीहरुको निर्देशनमा भइरहेको उहाँको बुझाइ छ ।

पछिल्लो एक सातामा श्रीनगरमा विभिन्न आक्रमणमा परी सात जनाको मृत्यु भइसकेको छ । यससँगै श्रीनगरको प्रहरीलाई हाई अलर्टमा राखिएको छ भने ठाउँठाउँमा मानिसहरुको चेकिङ् बढाइएको छ ।

प्रहरी स्रोतका अनुसार श्रीनगरमा आक्रमणको सूचना पहिला नै आएको थियो र त्यसको तयारी पनि गरिएको थियो । प्रहरीका अनुसार यस वर्ष मात्र विभिन्न घटनामा ३० जनाको मृत्यु भएको छ ।