साङ्केतिक तस्बिर
वीरगञ्ज – फेसबुकमार्फत चिनजान भएकी नेपाली युवतीलाई विवाहको बहानामा भारत लगेर बेच्न खोज्ने एक भारतीय युवक पक्राउ परेका छन् ।पर्सा प्रहरीले भारतको विहार राज्य पूर्वी चम्पारणको मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ वर्षका रेयान खान (मुन्ना आलम) लाई पक्राउ गरेको हो ।पक्राउ परेका आलमले नुवाकोट घर भएकी एक युवतीलाई फेसबुकमार्फत चिनजान गरी विवाह गर्ने बहानमा वीरगञ्ज–१७ अलौ नाकाहुँदै भारत लैजाने तयारी गरेका थिए । सशस्त्र प्रहरीको संयुक्त टोलीले आफन्त नेपाल संस्थाको समन्वयमा भारततर्फ जान लागेका दुवै जनालाई शङ्का लागेर रोकेर जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।

प्रहरीले सोधपुछ गर्दा युवकले पहिले नै विवाहित भएको तथ्य लुकाएको र आलमले विवाहको बहानामा युवतीलाई भारतमा बेच्ने तयारी गरेको प्रहरीको भनाई छ ।

युवतीको उद्घार गरी भरतीय युवकविरुद्ध जाहेरी दरखास्त लिएर मानव बेचबिखन कसुरमा अदालतबाट १० दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।