प्रतीकात्मक तस्वीर
काठमाडौं — पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्मिला र सुनिता तामाङ रोशनी छन् । युनिसा र सुनिताले हनिट्रयापमा पारेर दोलखा घर भएका एकजना पुरुषको साढे ३ तोलाको सिक्री लुटेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिनुभयो ।
बौद्ध बस्ने ती पुरुष र काभ्रेको नमोबुद्ध घर भएकी सुनिता तामाङको बीचमा सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । युनिसा उनकी साथी हुन् । केही दिनअघि उनीहरुले ति पुरुषलाई फोन गरेर उनलाई एयरपोर्टमा बोलाएर ट्याक्सि चढाएर चापागाउँ बसपार्क सँगै रहेको होटलमा लगेका थिए ।

युनिसा मगरले ‘टिकटक बनाउँछु’ भनेर पुरुषको ३७ दशमलव ५ ग्रामको सुनको सिक्री मागेर भागेकी थिइन् । युनिशा भागेपछि सुनिता पनि उनलाई छाडेर हिँडिन् । फोन गरेर सिक्री माग्दा ‘हामीसँग भिडियो छ, पुलिसकहाँ गएमा फसाउँछौं’ भनेर उनीहरुले ब्ल्याकमेल गरेका थिए ।

हनिट्रयापमा पारेर लुटेको सिक्री भोलिपल्ट १ लाख ६३ हजारमा उनीहरुले टिकाथलीमा रहेको सुन पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हनिट्रयापर हरुलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी परिसर जावलाखेलमा बुझाइएको एसएसपी खापुङले बताउनुभयो ।