काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो । बागमती प्रदेशमा १३ जिल्ला छन् । उपत्यकाबाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको छ ।

उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १८ रूपैयाँ, १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रूपैयाँ भाडादर कायम गरेको छ ।

मन्त्रालयको २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट २०७८ असार २९ गते अन्तरप्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने व्यवस्था गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताएका छन् । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने सिटौलाको भनाइ छ ।