जनकपुरधाम –सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालय घेराउ गरेको छ । जनमत पार्टीका नेता–कार्यकर्ताले बर्दिवास पुगी आज अख्तियारको कार्यालय घेराउ गरेका हुन् ।

अख्तियारको टोलीले प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनियमितता भएको उजुरीपश्चात् फाइल नियन्त्रणमा लिएपछि अनुसन्धान गर्न दबाब दिँदै जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गरेको हो ।

‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘भ्रष्ट सरकार राजीनामा दे’, ‘मधेसी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायत नारा लगाउँदै अख्तियारको कार्यालय पुगेका थिए ।

जसपाले अख्तियारको विरोधमा प्रदर्शन गरेपछि त्यसको काउन्ट दिँदै जनमत पार्टीले आन्दोलन थालेको हो । यसअघि जनमत पार्टीका कार्यकर्ताले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका थिए ।