राजधानीको बढ्दो जनघनत्व, सवारी साधनको चाप, भत्केका बिग्रेका र साँगुरा सडक गल्लिमा रिक्सा चलाउन त्यति सहज छैन । एकातिर बटुवाहरुको कर्कसोे त अर्कोतिर ट्राफिक प्रहरीको टोकसो र तथानाम गालि । यो कथा व्यथा हो, राजधानीमा रिक्सा चलाउने अधिकांश रिक्सा चालकहरुको ।
‘के गर्नु यी सबै सहेर पनि परिवार र पेट पाल्नका निम्ति रिक्सा चलाउनै प¥यो’–भन्छन् उनीहरु । काठमाडौंलाई लामो समयदेखि कर्मथलो बनाउँदै आएका रसुवाका कृष्ण विष्ट हुन् या धादिङका किरण श्रेष्ठ, या त दोलखाका कमल नेपाली हुन् या काभ्रेका सञ्जय तामाङ्ग नै किन नहुन्, यी सबै रिक्सा चालकहरुको समस्या र गुनासो एकै खालको छ ।
देशको राजधानीमा विगत अठ्तीस वर्षदेखि निरन्तर रिक्सा चलाउँदै आएका रसुवाका कृष्ण विष्ट रिक्सा चलाउनु खुसी नभइ बाध्यता भएको बताउँछन् । अब रिक्सा चलाउन हिजोको जस्तो सजिलो छैन विष्टको अनुभवमा । श्रीमतीसँगको सम्बन्धविच्छेद, साँझ बिहान घरको धन्दा, बृद्ध बाबु र तीन छोरा छोरीप्रतिको अभिभावकीय जिम्मेवारी बहन गर्नु पर्ने दायित्व । यी सबै जिम्मेवारी पूरा गर्न रिक्सा चलाउनुको विकल्प छैन विष्टसँग । राजधानीको महङ्गी, चर्को घरभाडा, दैनिक गर्जो टार्नुपर्ने बाध्यता । ‘छोरा छोरीलाई पढाउने इच्छा र चाहना हुँदाहुँदै पनि आर्थिक दुरावस्था र दैनिक गर्जो टार्नुपर्ने बाध्यताले उनीहरुलाई पढाउन पनि सकिन’– भन्छन् विष्ट । तर विष्टसँग अहिले पाँचवटा रिक्सा छन् । उनी आफैले एउटा चलाउनछन् भने चारबटा अरुलाई भाडामा दिएका छन् दैनिक एक सय रुपैयाँमा ।
दोलखाको चरिकोटमा जन्मेका कमल नेपालीले काठमाडौंमा रिक्सा चलाउन थालेको ३६ वर्ष भैसक्यो । उनले अहिलेसम्म आफ्नो रिक्सा जोड्न सकेका छैनन् । उनी अहिले पनि साहुकै रिक्सा चलाउँछन् । ‘दिनको ५ देखि ६ सय रुपैयाँसम्म आम्दानी हुन्छ, कमाइ भएपनि नभएपनि दिनमा १ सय रुपैयाँ रिक्सा भाडा साहुलाई बुझाउनु पर्छ । पहिलेको जस्तो खासै आम्दानी पनि हुँदैन, जीवन धान्न धौ धौ छ’– भन्छन् कमल । कमलको बुझाइमा रिक्सा चालकहरुलाई ट्राफिक प्रहरी धेरै नै दुःख दिन्छन् । ट्राफिक प्रहरीबाट नानाथरीका गालि गलौज गर्ने र पिट्नेसम्मका हर्कत पनि आफुहरु सहनु परेको बताउँछन् । ‘ट्राफिक प्रहरीको पिटाइले सात दिनसम्म थलापरेको छु । दुःख गरी खाने हामी मजदुरका लागि अरु सवारी साधन जस्तै जतासुकै जानदिए हुन्थ्यो’– भन्छन् कमल नेपाली ।
काठमाडौंको नरदेवीमा बस्दै आएका कलमको सन्तानका नाममा एकमात्रै छोरा र श्रीमती छन् । एउटैमात्र सन्तानको रुपमा रहेको छोरालाई बोर्डिङमा पढाउने आफ्नो रहर पूरा गर्न नपाउँदा मन खिन्न हुने गरेको कमल सुनाउँछन् । ‘जे जस्तो भए पनि सरकारी स्कुलमा छोरा कक्षा ९ मा पढिरहेको छ’– भन्छन् कमल नेपाली । आफुले जतिसुकै दुःख भोग्नु परे पनि छोरालाई राम्रोसँग पढाइ लेखाइ गराएर शिक्षक बनाउने उनको धोको छ ।
काठमाडौंमा ठमेल, असन, इन्द्रचोक र हनुमान ढोका बाहेक अन्यत्र रिक्सा चलाउन पाईंदैन । रिक्सा चढ्ने यात्रु र सामानको टीप त पाइन्छ, तर ति स्थानबाहेक अन्त जान नपाउँदा आफुहरुलाई समस्या पर्ने गरेको गुनासो रिक्सा चालकहरुको छ । टीप पाइन्छ तर उनीहरुले भनेको ठाउँमा जान पाइदैन, कसरी पैसा कमाउनु ? भन्छन् कमल नेपाली । विशेषगरी विदेशी पर्यटकहरुलाई बोक्दा उनीहरुले अलि बढी पैसा दिन्छन । त्यस्तो बेलामा भने २÷४ पैसा जोहो गर्न सकिन्छ भन्छन् रिक्सा चालकहरु । आफुहरुले धेरै दुःख मिहेनत गरेरै भए पनि गाउँमा घामपानी ओत्ने एउटा सानो तिनो घर बनाउने योजना बनाएकाछन् ।
पहिले राजधानीमा जताततै रिक्सा गुड्थे । सस्तो र भरपर्दाे साधनको रुपमा रिक्सा थियो । केही वर्षदेखि राजधानीमा जनसंख्याको साथै सवारी साधनहरुको बढ्दो चापले गर्दा शहरको मध्यभित्री भागभन्दा बाहेक रिक्सा चलाउन निषेध छ । सीमित क्षेत्रमा रिक्सा चलाउनु पर्दा आफुहरुलाई निकै मर्का परेको रिक्सा चालक सञ्जय तामाङ बताउँछन् ।
सञ्जय कुनैबेला माओवादी जनमुक्ति सेनाका लडाकु थिए । दश कक्षासम्म पढेका उनी घरको आर्थिक दुरावस्थाले पढाइलाई अघि बढाउन नसकेर कामको खोजिमा राजधानी छिरेको बताउने सञ्जय आफुले भनेजस्तो काम नपाएकोले ‘जनवादी राज्यसत्ता स्थापना’ गर्ने सपना बोकेर युद्धमा होमिएको तात्कालीन विद्रोही शक्ति नेकपा माओवादीको जनमिलिसिया बन्न पुगे पन्ध्र वर्षको कलिलै उमेरमा । २०६२ मङ्सिर ७ गते भारतको नयाँ दिल्लीमा नेपाली कांग्रेस, एमालेलगायतका सात राजनीतिक दल र तात्कालीन विद्रोही नेकपा माओवादीबीच बाह्र बुँदे सहमति भयो । तत् पश्चात् माओवादी शान्ति प्रकृयामा आयो ।
तात्कालीन विद्रोही नेकपा माओवादीको लडाकु दस्ता ‘जनमुक्ति सेना’ क्यान्टोनमेन्टमा सीमित भए । सरकारले त्यसबेला अवकास, समायोजन र पुन स्थापना मध्ये एउटा रोज्नु पर्ने व्यवस्था ग¥यो । सञ्जयले अवकाश रोजे । अवकाश लिंदा पाएको पैसाले रिक्सा किनेर राजधानीको भित्रि सहरमा रिक्सा कुदाउँछन् अहिले । श्रीमती, एक छोरा र एक छोरीका पिता सञ्जय छोरा छोरीलाई राम्रो शिक्षा दिनु पर्छ भन्ने मान्यतामा छन् । भविष्यमा छोरा छोरीलाई डाक्टर/इञ्जिनियर बनाउने धोको छ उनको ।
राजधानीमा दिउँसोमात्र होइन राति पनि रिक्सा चढ्न पाइन्छ । विशेष गरी ठमेल क्षेत्रतिर । ठमेल क्षेत्रमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रिक्सा चलाउने सञ्जय दिउँसो आफ्नो रिक्सा अरुलाई भाडामा दिन्छन् । दैनिक हजार बाह्र सय रुपैयाँसम्म आम्दानी हुन्छ भन्छन् उनी । जनमुक्ति सेनामा जागिर खाँदा त्यहि खुसी थिए, अहिले आफ्नै रिसा चलाउँदा सन्तुष्टि भएको बताउँछन् । उनलाई राज्यबाट केही आशा गर्ने भन्दापनि आफ्नै परिश्रम र मेहनतले अघि बढ्न सक्नेप्रति विश्वस्त छन् सञ्जय तामाङ्ग ।
धादिङ सुनौला वजारका किरण श्रेष्ठले असन, इन्द्रचोक, क्षेत्रपाटी तिर रिक्सा चलाउन थालेको ५ वर्ष भयो । उनको आफ्नै रिक्सा छ । दुई छोरीका बाबु किरण बिहान झिसमिसे हुन नपाउँदै रिक्सा निकाल्छन् र आफ्नो गन्तव्यतिर हानिन्छन् । उनको रिक्सा चलाउने ड्युटी साँझ ७÷८ बजे तिरमात्रै सकिन्छ । दैनिक ७÷८ सय रुपैयाँ आम्दानी हुन्छ भन्ने किरण श्रीमतीलाई पनि फुटपाथ व्यापारमा सरिक गराएका छन् । श्रीमतीको पनि राम्रो कमाइ छ । दुईजनाको कमाइले धादिङ्गकै गाउँमा घर बनाउन घडेरी जोडि सकेका छन् । छोरीहरुलाई सोह्रखुट्टेस्थित सिद्धिगणेश स्कुलमा पढाएका छन् । जेठी कक्षा ३ र कान्छी छोरी १ कक्षामा पढ्दैछन् ।
कृष्ण विष्ट, सञ्जय र किरण जस्ता रिक्सा चालकहरुले आफ्नै पौरखले रिक्सा किनेर भाडामा अरुलाई चलाउन दिएका छन् । त्यसोत उनीहरु आफैं पनि रिक्सा चलाउँछन् । काठमाडौंमा रिक्साचालकहरुको छाता संगठन नेपाल रिक्सा चालक संघ पनि छ । सकै चालकहरु संघको सदस्य छैनन् । संघमा १९६ जना मात्रै सदस्य छन् । काठमाडौंमा कति रिक्सा छन् भन्ने यकिन तथ्याङ्क पनि छैन संघसँग । अब उनीहरु सरकारले सहुलियतमा ब्याट्रिबाट चल्ने रिक्सा उपलब्ध गराइदिए हुन्थ्यो भन्छन् । तीन पाङ्ग्रे रिक्सा चलाउन बल धेरै चाहिन्छ, ठल्कँदा उमेर र विभिन्न किसिमका रोगलाग्ने हुँदा आफुहरुलाई परम्परागत रिक्सा चलाउन गाह्रो हुन थालेको रिक्सा चालकहरु बताउँछन् । ब्याट्रिबाट चल्ने रिक्सामा बल लगाउनु पर्दैन र सजिलो हुन्थ्यो भन्छन् उनीहरु ।
कृष्ण, सञ्जय, कमल र किरण जस्ता राजधानीमा रिक्सा चलाउने सयौं रिक्सा चालकहरुको कथा व्यथा हो । प्रजातन्त्र आओस् कि गणतन्त्र, उनीहरुको जीवनमा कुनै बहार आएको छैन । सरकारमा नेतृत्व गर्ने धेरै पात्रहरु फेरिए, तर राजधानीमा रिक्सा चलाउनेको जीवन चोला फेरिएन । हिजो चप्पल लगाउने र फाटेको पाईंट लगाएर असन, इन्द्रचोकका गल्लि चहार्नेहरु आज पार्टीका नेता बने, मन्त्री भए प्रधानमन्त्री भए । आलिशान बङ्गला र पजेरोका मालिक बने । देशमा राजनीतिक व्यवस्था परिवर्तन त भयो, तर ति रिक्सा चालकहरुले कुनै परिवर्तनको अनुभूति गर्न पाएनन् । ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ उनीहरुको लागि के प्रताजन्त्र, के लोकतन्त्र, के गणतन्त्र । सधैं सदाबहार दुःखको जिन्दगी ।