काठमाडौं – विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ । नेपाल राष्ट्र बैंकले हिजो एक सूचनामार्फत विदेशमा समेत ऋण लिन चाहनेलाई नेपाली बैंकले पनि ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था गरेको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिनुभयो ।

सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ। नेपाली बैंकले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो । केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ ।

बैंक ग्यारेन्टी वा ‘स्ट्याण्डबाई लेटर अफ क्रेडिट’को अधिकतम सीमा समेत तोकेको छ । त्यस्तो सटही सुविधा लिएपछि विदेशमा भएको कारोबारबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।