बीबीसी – फेसबुककी एक पूर्वकर्मचारीले उक्त प्रविधि कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पु¥याउने, विभाजनहरूलाई बढावा दिने र प्रजातन्त्रलाई कमजोर बनाउने गरेको आरोप लगाएकी छन् । अमेरिकी सांसदसँगको छलफलका क्रममा ३७ वर्षकी फ्रान्सिस हाउगनले फेसबुक र त्यसका एप्लिकेशनहरु बालबालिका, समाज र प्रजातन्त्रका लागि हानिकारक र घातक रहेको बताएको बीबीसीले जनाएको छ ।

त्यसबारे जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी उनले हालै सो कम्पनीका गोप्य विषयहरू सार्वजनिक गरेकी थिइन् । त्यसपछि अमेरिकी संसदमा भएको सुनुवाइको क्रममा उनले फेसबुकको कडा आलोचना गरेकी हुन् । यता फेसबुकले भने हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्ना सुरक्षाको अवस्थाको बचाउ गरेको छ । तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको भने स्वीकारेको छ ।

मंगलबारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा एकमत थिए । २ अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । करोडौँ प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य सञ्जाल पनि प्रयोग गर्छन् । तर फेसबुकमाथि प्रयोगकर्ताका गोपनीयता संरक्षण गर्नेदेखि गलत सूचना प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै आलोचना हुने गरेको छ ।