काठमाडौं — पाँच लाख नतिरेको निहुँमा पेट्रोलियम पदार्थ व्यवसायीले एकजना महिलालाई अपहरण गरेर बन्धक बनाएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेरामाबस्दै आएकी र डेराबाटै निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले भक्तपुरका धिरोज श्रेष्ठ र उनकी भाञ्जी रसिला अवाललाई पक्राउ गरेको छ । असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले अपहरण गरेर लगेर सुचना आएपछि पीडितलाई उद्दार गरिएको अपराध महाशाखाले जनाएको छ । मध्यपुर घर भएका धिरोजले महिलालाई चाँगुनारायण नगरपालिका स्थित सरस्वती खेलमा रहेका भान्जी नाता पर्ने रसिलाको घरमा लगेर बन्धक बनाएर राखेका थिए । प्रहरीले पीडितलाई असोज १७ मा रसिलाको घरबाट उद्दार गरेको थियो ।

धिरोज पेट्रोलियम पदार्थ व्यवसायी हुन् । उनको अफिसमा काम गर्दा निरमानले ५ लाख रुपैयाँ लगेका थिए । ट्यांकर चालक निरमानले पैसा नतिरेको र आफ्नो अफिस छाडेर सम्पर्कविहीन भएपछि सो पैसा नल्याउँदासम्म पत्नीलाई राजिखुसीमा भाञ्जिको घरमा लगेर राखेको धिरोजले प्रहरीलाई बताएका छन् ।
मामा–भाञ्जीलाई अपहरण मुद्दामा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । भोम्जन र श्रेष्ठले स्थानीय निकायमा लेनदेनको कागज गरेको फेला परेको छ ।