काठमाडौं – इसेवाले हिन्दु नेपालीहरूको महान चाड दसैँ–तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापनादेखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्सफर गर्न सकिने भएको छ । यस्तै बम्पर उपहारमा ‘रू सयमा स्कुटर’ योजनामा एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सकिनेछ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिनेछ । यस्तै साप्ताहिक रूपमा एकजना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् ।

‘सेण्ड मनि दसैँ क्याम्पेन’मा ५ सय जनाले पाँच सय रुपैयाँ र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै ५ सय डिजिटल दक्षिणा प्राप्त गर्नेछन् । यस्तै फ्ल्यास् अफर अन्तर्गत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना ४ अक्टोबर देखि १३ अक्टोबरसम्म लागु हुनेछ । यस्तै एयरलाइन्स् योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना असोज १२ गतेदेखि असोज २६ गतेसम्म लागु हुने भएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।