उक्साहटमा ल्याउने खालका गतिविधि नगर्न ताइवानले चीनलाई सुझाव दिएको छ । सोमबार चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले चेतावनी दिएको हो । चीनको हवाई सेनाले अहिलेसम्म ताइवानको हवाई क्षेत्रमा यति ठूलो संख्यामा लडाकु विमान उडाएको पहिलो घटना हो ।

पछिल्लो समय बढेको तनावका लागि चीन प्रमुख दोषी रहेको ताइवानले बताएको छ । तर चीनले ताइवानसँग तनावको अवस्था आउनुमा अमेरिका दोषी रहेको आरोप लगाउँदै आएको छ । केही दिनअघि चीनका झण्डै ४० वटा सैनिक जहाज ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ। तर ताइवान भने आफू स्वतन्त्र सर्वाभौम देश रहेको बताउँछ । ताइवानले विगत एक वर्षभन्दा बढी समयदेखि चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । तर चीनले भने आफ्नो सुरक्षा र ताइवान तथा अमेरिकाबीचको सहकार्यलाई निशाना बनाउन यस्ता कार्य गर्ने गरेको बताउने गरेको छ ।