काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अङ्कको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ अङ्कको गिरावटसँगै नेप्से परिसूचक २५ सय ७० अङ्कमा आइपुगेको छ । यसक्रममा आज ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, ७६ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से परिसूचक घटेपनि आज चार वटा समूहमा सुधार आएको छ । लघुवित्त समूहमा ७२ अङ्कको सुधार आउँदा अन्य र होटल तथा टुरिजम क्षेत्रमा पनि सुधार आएको छ । यस्तै, जीवन बीमा समूहमा ५ अङ्कको सामान्य वृद्धि देखिएको छ । आज आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर १० प्रतिशतले बढेपछि लगानीकर्ताले प्रतिकित्ता १५४ रुपैयाँ कमाएका हुन् ।

यसपछि, मैलुङ खोला जलविद्युत, सर्पोट माइक्रोफाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । यसैगरी, आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।