काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सवारी साधन र बजारमा नै पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २ सय ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेका २ सय ७ जनामध्ये १ सय ६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारागार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले बताउनुभयो ।

उनीहरुले सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराबन्दी पारी मोबाइल, नगद र सुनचाँदी पाकेटमारी गरेर पालोपालो गरी ओर्लने गरेको प्रहरीको भनाइ छ । पाकेट मार्दा उनीहरुले साङ्केतिक भाषा प्रयोग गर्ने गरेको पनि एसएसपी सिंहले बताउनुभयो ।