जापान – जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएक छ । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भर्खरै चुनिनुभएको हो । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताका रूपमा परिचित हुनुहुन्छ, जसले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गतहप्ता मात्र सम्हाल्नुभएको हो ।

आजको संसद्को मतदानले उहाँलाई प्रधानमन्त्रीमा सहजै अनुमोदन गरेको हो । संसद्को अनुमोदनपछि किशिदाले थुप्रै नयाँ अनुहार सहित मन्त्रिमण्डल विस्तार गर्नुभएको छ भने केही महत्त्वपूर्ण मन्त्रालयमा भने निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलका सदस्य यथावत् राखिएका छन् । पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् हुनुहुन्छ ।

अर्थ मन्त्रालयको जिम्मेवारी भने शुनिची सुजुकीलाई दिइएको छ । त्यस्तै मन्त्रिपरिषद्मा तीन महिला समावेश गरिएका छन् जसमा किशिदा नेतृत्वको एक समयका प्रतिद्वन्द्वी सेको नोडा पनि छन्, जो जापानको घट्दो जन्मदर सम्बोधन गर्ने जिम्मामा मन्त्री नियुक्त भएका थिए ।