काठमाडौं – गायक शिव परियारले साङ्गीतिक करिअरमा धेरै चर्चित गीतमा आवाज भरेका छन् । आधुनिकदेखि पार्श्व गायनमा पनि शिवले आफ्नो गतिलो उपस्थिति जनाएका छन् । शिवले ’जति बिर्स्यौँ तिम्रो याद’ बोलको गजल गीतबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए । उनको स्वरमा रेकर्ड भएको पहिलो गीत अहिले युट्युबमा सार्वजनिक भएको छ । सुरेश वाग्लेले लेखेको गजलमा गायक परियारले नै सङ्गीत भरेका छन् ।

वि.सं २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम हुन सफल भएका थिए । त्योसँगै गीत पनि उत्तिकै सफल बन्यो । गजलकार सुरेश समयअनुसार गीतलाई रिमेक गरेर पुनः बजारमा ल्याएको बताउँछन् । उनले भने, ‘त्यो अडियोको जमना थियो । परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहित गीत बजारमा ल्याएका हौं । पहिले जस्तै अब पनि दर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ ।’

करिअरको पहिलो गीत रिमेक गरी सार्वजनिक गर्दा शिव पनि खुसी छिन् । यस गीतले नयाँ पुस्ताको मन छुने उनको विश्वास छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियो सम्पादनको काम विकाश धमलाले गरेका छन् ।