पत्रपत्रिकाबाट
काठमाडौं – मध्य भोटेकोसी जलविद्युत् कम्पनीले यही असोज २० गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सिन्धुपाल्चोकवासी र सर्वसाधारणका लागि समेत सेयर निष्कासनको तयारी गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

कम्पनीको जारी पुँजी छ अर्ब रहेको छ । त्यसको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्कासन गर्न लागेको हो अर्थात् कम्पनीले ६० लाख कित्ता सेयर सिन्धुपाल्चोकको आयोजना प्रभावित क्षेत्र भोटेकोसी गाउँपालिका–१ र ५, बाह्रबिसे नगरपालिका–५, ६ बासिन्दाका लागि छुट्याएको छ ।

त्यस्तै बाह्रविसे–७ र ८ का स्थायी बासिन्दाका लागि १८ लाख कित्ता र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ। यसबाहेक ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये पनि तीन लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीका लागि साढे चार लाख कित्ता सामूहिक लगानी कोषको लागि र ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गर्ने भएको छ । (गोरखापत्र दैनिकबाट)