पत्रपत्रिकाबाट

काठमाडौं – अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १७ प्रतिशतले बढेको कृषि बीमा गत आव २०७७÷७८ मा ६१ प्रतिशतले बढेको छ । कोरोना महामारीको पहिलो लहरका कारण बिमा गतिविधि सुस्ताएकाले अघिल्लो आवमा कृषि बिमा विस्तारमा कमी आएको थियो ।

कोरोनाको दोस्रो लहरको जोखिमकै बीच गत आवमा भने बिमा गतिविधि रोकिएन । जसका कारण कृषि बिमा गर्नेको संख्या बढेको हो । बिमा समितिका अनुसार गत आवमा कृषि बिमा (कृषि र पशुपन्छी) मार्फत १ अर्ब ९० करोड २२ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । अघिल्लो आवको तुलनामा यो करिब ६१ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कृषि बिमामार्फत १ अर्ब १८ करोड १६ लाख रुपैयाँ मात्रै संकलन भएको थियो । गत आवमा ४२ अर्ब ४९ करोड रुपैयाँ बराबरको कृषि बिमा भएको छ । अघिल्लो आवको तुलनामा यो पनि ६१ प्रतिशतकै वृद्धि हो । २०७६÷७७ मा २६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कृषि बिमा भएको समितिले जनाएको छ । (कान्तिपुर दैनिकबाट)