ताइवानले आफ्नो हवाई क्षेत्रमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण गरेको आरोप लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार ३८ वटा लडाकु विमानले आफ्नो हवाई क्षेत्रमा दुई पटक गस्ती गरेको आरोप ताइवानले लगाएको हो ।

ताइवानले पछिल्लो एक वर्षमा मात्रै कैयौँ पटक चीनले आफ्नो हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप लगाउँदै आएको छ । अत्याधुनिक हतियारसहित आएका चीनका लडाकु विमानलाई आफ्नो सेनाले जवाफ दिएको पनि ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

चिनियाँ विमान फर्काउन आफूहरूले पनि लडाकु विमान पठाएको र निगरानीका लागि मिसाइल सिस्टम तैनाथ गरिएको ताइवानले रक्षा मन्त्रालयले जनाएको खबरमा उल्लेख छ । घटनाबारे चीनले अहिलेसम्म कुनै प्रतिक्रिया जारी गरको छैन । ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ तर चीन उसलाई आफ्नो भू–भागको हिस्सा ठान्छ । – एजेन्सी