माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो ।

नेपाललाई जित दिलाउन मनिष डाँगी नायक रहे । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका मनिषले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरे । काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै उनले उत्कृष्ट गोल गरेका हुन् । मनिष खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अङ्क जोडेको छ । अब नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।