अमेरिकी विदेश विभागले अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् । उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्दथे । यस हमलामा कोही पनि सर्वसाधारण मारिएको संकेत नआएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् ।

यसअघि एशोसियट प्रेसले २० अक्टुबरमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा गुडिरहेको गाडीमा ड्रोन हमला हुँदा कम्तिमा एकजना मारिएको जनाएको थियो । त्यसैगरी, ह्वाइट हेल्मेट टिम नामक सिभिल दस्ताका अधिकारीहरुले इदलिब–बिनिस सडकमा कारबाट एउटा अज्ञात शव निकालिएको जनाएका थिए ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी फौजले इदलिव प्रान्त नजिक अलकायदाका नेतालाई निशानामा बनाएर ‘आतंकवादविरोधी हमला’ गरेको थियो । – एजेन्सी