काठमाडौं — गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किनुभएको छ । हालै मात्र नयाँ गीत ‘पागल प्रेमी–२ सार्वजनिक गर्दै उहाँ गायनमा फर्किनुभएको हो । गीतमा निमाकै शब्द, सङ्गीत र स्वर रहेको छ । निमाले आर एण्ड बि र ‘याप शैलीको समिश्रण रहेको ‘पागल प्रेमी (मायालु तिमी भनिदेउ)’ वि.सं. २०५० मा ल्याउनुभएको थियो ।

हाल सार्वजनिक गीत निमाले केही वर्षअघि नै रेकर्ड गराउनुभएको थियो । तर उक्त गीतका लागि निमा रुम्बा र गायक स्व.सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गर्नुभएको थियो । सुनीलको असामयिक निधनसँगै ‘पागल प्रेमी–२’ को ‘क्रेजी लभर’ निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ । यो पप, इडिएम, डिस्को र आर एण्ड बि शैलीको फ्युजन गीत हो ।

अमेरिकामा सुटिङ भएको गीतको भिडियोमा निमा आफैं प्रमुख भूमिकामा हुनुहुन्छ । उनको साथमा मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्मा र मिस्टर यूएसए तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहले अभिनय गर्नुभएको छ । उहाँको मिस् क्याटवाक, हुरी बतास, आऊ आऊ न, प्रिति बस्यो, साँझमा पनि, मेरी प्रियसीलगायतका थुप्रै गीतहरु लोकप्रिय रहेका छन् ।