काठमाडौं – इथियोपियाले संयुक्त राष्ट्र सङ्घका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र सङ्घका कर्मचारीहरुलाई देश निकाला गरेको हो ।

द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन सरकारले असहयोग गरेको आरोप राष्ट्रसङ्घका कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै इथियोपियाले राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन कार्यालय लगायतका ७ जना कर्मचारीहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

इथियोपियाको यो निर्णयप्रति संयुक्त राष्ट्रसङ्घले दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले यो घटनाबाट आफू स्तब्ध बनेको बताएका छन् । इथियोपियाले अपेक्षाबारे छलफल गर्न आफूहरु तयार रहेको पनि संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् । गत वर्षको नोभेम्बरदेखि टिग्रे क्षेत्रमा सरकारी सेना र टिग्रे पिपुल्स लिबरेशन फ्रन्टबीच चर्किएको लडाइँका कारण उक्त क्षेत्रमा मानवीय सङ्कट देखिएको छ । लडाइँमा परी हजारौं मानिस मारिएका छन् भने कैयौं विस्थापित हुन पुगेका छन् ।