वीरगञ्ज – मुस्कान खातुनलाई एसिड आक्रमण गर्ने आरोपी पक्राउ परेका छन् । कोरोना भाइरसको महामारी उच्च रहेका बेला परिवारको जिम्मा लगाइएका आरोपित त्यसपछि फरार भएका थिए । फरार आरोपितलाई पर्सा प्रहरीले सात महिनापछि पक्राउ गरेको हो ।

रौतहटको परोहा गाउँपालिका–७ घर भई हाल वीरगञ्ज महानगरपालिका–२, छपकैया बस्दै आएका १९ वर्षीय समशाद मियाँलाई प्रहरीले पक्राउ गरेको हो । उनले २०७६ साल भदौ २० गते मुस्कानमाथि एसिड आक्रमण गरेका थिए । मियाँलाई सोही बेला प्रहरीले पक्राउ गरेको थियो । उनलाई ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई पर्सा जिल्ला अदालतको आदेशले तत्काल पुर्पक्षको लागि बालसुधार गृह पठाएको थियो । तर कोभिड–१९ को पहिलो लहरका कारण २०७६ साल चैत ११ गते अदालतकै फैसलाले मियाँलाई उनको संरक्षकको जिम्मा लगाई घर पठाइएको थियो ।

त्यसबेला उनी १७ वर्षका थिए । संक्रमण कम हुन थालेपछि जिल्ला अदालतकै आदेश अनुसार २०७७ साल फागुन २६ गतेको फैसलाले मियाँलाई बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो । तर उनी फरार भएका थिए । फरार रहँदै आएका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका–२, ईदगाह चोकबाट नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयले जानकारी दिएको छ ।