उत्तर कोरियाका सर्वोच्च नेता किम जोङले दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् । किमले दक्षिण कोरियासँग शान्तिपूर्ण सम्बन्ध विकसित गर्न हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका हुन् । उत्तर कोरियाको संसद्को वार्षिक सत्रमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

यसअघि उत्तर कोरियाले गत अगष्टमा अमेरिकासँग दक्षिण कोरियाको सैन्य अभ्यासको कारण देखाउँदै हटलाइन सेवा बन्द गरेको थियो । संसदमा बोल्दै किमले अमेरिकाले उत्तर कोरियाप्रतिको ‘शत्रुतापूर्ण नीति’ नबदलेको आरोप पनि लगाएका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनका अनुसार बैठकमा किमले अमेरिकाले राजनीतिक समन्वयको कुरा गरिरहेको तर यो उसको अन्तर्राष्ट्रिय समुदायलाई धोका दिने ‘शत्रुतापूर्ण चालबाजी’ मात्रै रहेको बताएका छन् ।

केसीएनएका अनुसार किमले दक्षिण कोरियासँग भने शान्ति चाहेकोले हटलाइन सेवा अक्टोबर भन्दाअघि नै सुचारु गर्ने प्रस्ताव गरेका छन् । तर यो कुरा दक्षिण कोरियाले अब देखाउने व्यवहारमा निर्भर रहने पनि उनले बताएका छन् ।