जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगमा डिनामो किभमाथि ५–० को फराकिलो जित निकालेको छ । समूह ई मा रहेको बायर्नले लगातार दोस्रो जित निकालेको हो ।

गएराति भएको खेलमा डिनामो किभविरुद्ध बायर्नका रोवर्टो लेवान्डोस्कीले दुई गोल गरे । उनले खेलको १२औं र २७औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा सर्जी जीनाब्रीले ६८औं, लरेय सानेले ७४औं र चोपो मोटिङले ८७औं मिनेटमा गोल गरेर टोलीलाई ५–० ले जिताए । लगातार दोस्रो जितपछि बायर्न समूह ई मा ६ अंकसहित शीर्ष स्थानमा छ । १ अंक रहेको डिनामो किभ तेस्रो स्थानमा छ ।

च्याम्पियन्स लिग समूह ‘इ’मा बायर्नको यो लगातार दोस्रो जित हो । दुई साताअघि भएको पहिलो खेलमा टोलीले बार्सिलोनामाथि ३–० को जित दर्ता गरेको थियो । यता स्पेनिस क्लब बार्सिलोनाले भने च्याम्पियन्स लिग फुटबलमा लगातार खराब प्रदर्शन जारी राखेको छ । समूह ई मा रहेको बार्सिलोनाले लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० ले पराजित भएको हो ।