धनुषाको जनकपुर स्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारले जनाएको छ ।

प्रदेश नं.२ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो । साइकल खरिदबारे सक्कल कागजात ल्याएर विस्तृत अनुसन्धान गरिने आयोगले जनाएको छ ।