जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने हुनुभएको छ । उहाँ मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए ।

आज बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन असज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । जनता समाजवादी पार्टी विभाजित भए पनि प्रदेश २ मा नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । केन्द्रदेखि प्रदेशसम्म नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन रहेकाले मुख्यमन्त्री राउतले प्रदेशसभामा सहजै विश्वासको मत लिन सक्छन् ।

उहाँको दल जसपासँग ३९, सत्तामा सहभागी काङ्ग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीसँग १३ गरी ७९ सांसद रहेका छन् । प्रदेश २ मा कुल १ सय ७ जना सांसद रहेकोमा माओवादीले ३ जनालाई कारवाही गरेपछि अहिले १ सय ४ जना सांसद छन् । जसमध्ये सत्तापक्षसँग ७९, लोकतान्त्रिक समाजवादी पार्टीसँग १६, नेकपा एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।