काठमाडौं – जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने हुनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको आज बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उहाँ पार्टीको प्रमुख नेतामा चुनिनुभएको हो । जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ ।

६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो कोनोलाई पराजित गर्नुभएको हो । दुई चरणमा सम्पन्न भएको निर्वाचनमा किशिडाले २ सय ५७ भोट पाउनुभएको थियो भने कोनोले १ सय ७० भोट मात्र पाउनुभएको थियो । पहिलो चरणको निर्वाचनमा दुवैले स्पष्ट बहुमत पाउन नसकेपछि दोस्रो चरणको निर्वाचन गराइएको थियो ।

अब किशिडाले जापानमा आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा पार्टीको नेतृत्व गर्ने हुनुभएको छ । यसअघि तारो कोनो जापानको आगामी प्रधानमन्त्री बन्न सक्ने विभिन्न सर्वेक्षणले देखाएता पनि किशिडाले बुधबारको निर्वाचनमा उहाँलाई पराजित गर्नुभएको हो । एजेन्सी