काठमाडौं – साविकको विजेता टोली ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई सात ओभरमा जितका लागि ५२ रनको लक्ष्य दिएको छ । त्रि वि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो दोस्रो खेलमा ललितपुरले ५२ रनको लक्ष्य दिएको हो । ललितपुरका लागि सन्धु वेरकोडेले सर्वाधिक १९ रनको योगदान गरे । त्यस्तै ओसाडा फर्नान्डोले नट आउट १० रन बनाउँदा नारायण जोसीले ११ र पवन सरार्फले ५ रन बनाए ।

बलिङतर्फ पोखराका लागि नन्दन यादवले सर्वाधिक तीन विकेट लिए । त्यस्तै बिक्रम सोबले दुई विकेट लिए । दुई टोलीबीचको खेल सात ओभरमा घटाइएको थियो । मैदान भिजेका कारण खेल ढिलो सुरु भएको हो । यसअघि पोखरा र काठमाडौं किङ्स–११ बीचको खेल वर्षाका कारण मैदान चिसो हुँदा रोकिएको थियो ।

पहिलो खेलमा काठमाडौं–११ सँग पराजित भएको ललितपुरलाई आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । पोखराले पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अङ्क बाडेको थियो । पोखरा र काठमाडौंबीचको दोस्रो खेल मैदान भिजेका कारण स्थगित भएको थियो ।