काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनी २० असोजबाट सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९० लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । १०० रुपैयाँ अङ्कित दरका ९० लाख कित्ता मध्ये कम्पनीले ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि, ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई छुट्याएको छ ।

आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते हुनेछ । उक्त अवधिमा पनि मागबमोजिम आवेदन नपरेमा ढिलोमा कात्तिक ३ गतेसम्म बिक्री खुला रहनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरूबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र जिल्लाकै अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता निष्कासन गरेर बाँडफाँट पनि गरिसकेको छ । मध्य भोटेकोशीको आईपीओ निष्कासनकर्तामा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।